नमस्कार
सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा म नरेन्द्र साहले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट उम्मेदवारी दिएको छु । यस क्षेत्रको समग्र विकास र समाजको उत्थानका लागि केही गर्ने उद्देश्य बोकेर मैले उम्मेदवारी दिएको हुँ ।
म तपाईं सबै मतदाताहरूलाई विश्वस्त गराउन चाहन्छु कि मलाई चुनाव जिताएपछि तपाईंहरूले कहिल्यै पछुतो मान्नुपर्ने अवस्था आउन दिने छैन । जनतासँग नजिक रहेर, जनताको हितका लागि निरन्तर काम गर्नेमा म सम्पुर्ण मतदाताहरूलाई विश्वास दिलाउन चाहन्छु ।
मतदाताले आफूले चुनेको जनप्रतिनिधि सुख–दुःखमा साथी होस् भन्ने चाहेको हुन्छ । तर, त्यो अपेक्षा पुरा नभएर निराश भएको पनि देखेको छु । म त्यस्तो अवस्था कुनै हालतमा आउन दिने छैन र यो मेरो मतदाताहरूसँग गरेको प्रतिज्ञा हो ।
समाजसेवा मेरो मूल उद्देश्य हो र रहनेछ । त्यही बाटोमा निरन्तर हिंड्नेछु ।
निस्वार्थ सेवा, नागरिकसँगको निकटता, यस क्षेत्रको समग्र विकास, निरन्तर सम्पर्कमा रहेर जनताको सुझाव अनुसार काम गर्ने कुरामा म विश्वास दिलाउन चाहन्छु ।
हामीसँग सबै विषय र क्षेत्रका विज्ञहरुको टोली छ । र, सर्लाही ३ को विकासका लागि स्पष्ट योजना कोरेका छौं ।
कृषि
कृषकहरुलाई आवश्यक पर्ने बिउ, बिजनको उचित व्यवस्थापन गरिनेछ । र, घर–घरमै उत्पादन गरिने कम्पोस्ट मल उत्पादनका लागि कृषि ज्ञान केन्द्रका प्राविधिकको सहयोगले विधी सिकाइने छ । किसानहरुलाई मलको अभाब हुनदिने छैन ।
कृषकहरुलाई अत्याधुनिक कृषि औजारजन्य उपकरण सहुलियतमा उपलव्ध हुने प्रबन्ध मिलाइनेछ । धान, मकै, गहुँ, उखु, आलु, तरुल, पर्वल, टमाटर जस्ता स्थानीय उत्पादनहरुको बजारिकरण र किसानलाई उचित मूल्यका लागि अत्याधुनिक सेवा सम्पन्न कोल्ड स्टोर निमार्ण गरिनेछ । र, यस क्षेत्रका स्थानीय उत्पादनहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजानका लागि उचित प्रबन्ध मिलाउनेछ ।
सिंचाई सुविधा नपुगेको स्थानमा खोला, नाला तथा डिप बोरिङको सहायताले प्रत्येक उर्वर जमिनमा विज्ञ टोलीको परामर्शबाट डिपिआर तयार गरी सिंचाईको व्यवस्थापन गरिनेछ ।
स्वास्थ्य
चौबिसै घण्टा सबै प्रकारका अप्रेसन सुविधा भएको, भरपर्दो उपचार सुनिश्चित भएको, सुरक्षित सुत्केरी सेवा प्रदान गरिने, ओपिडी, डायग्नोस्टिक सेवा, आइसीयू, अपरेशन थियटर, वर्थिङ तथा म्याट्रिनिटी सेवा, सर्पदंशको उपचार सुविधासहितको अस्पताल बनाइनेछ ।
पर्यटन
सर्लाही जिल्ला पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । नेपालको अर्थतन्त्रमा पर्यटन व्यवसायको महत्वपूर्ण योगदान रहँदै आएको छ ।
यहाँका परम्परागत नदि नाला, ताल, पोखरी र पुरातात्विक महत्वका मन्दिरहरुलाई अझ व्यवस्थित बनाइनेछ । यसको व्यापक प्रचारप्रसार गर्दै आन्तरिक तथा बाहिरिय पर्यटक भित्र्याउने व्यवस्था मिलाइनेछ ।
खेलकुद
मोफसलमा हुने धेरै खेलकुद प्रतियोगिता सर्लाहीमा आयोजना भइरहेका छन् । सुविधा सम्पन्न खेल मैदान निर्माण लगायत खेलकुद क्षेत्रको विकासका लागि द्रुत गतिमा काम अझै अगाडी बढाइने छ । सर्लाहीमा राष्ट्रको नाम राख्ने खेलाडी रहेको इतिहास छ । आगामी दिनमा पनि सर्लाहीले दक्ष खेलाडी उत्पादन गर्नु पर्छ । यसका लागि बिभिन्न क्लबहरुलाई खेलकुद सामग्रीहरु उपलब्ध गराएका छौं । उचित खेल मैदान र थप खेल सामग्रीहरुको व्यवस्था गरिने छ । अनुशासन, आर्थिक विकास, सुशासन, शान्ति तथा समृद्धि र एकताको लागि खेलकुद क्षेत्रको विकास हुनै पर्छ । खेल क्षेत्रको विकासका लागि प्राथमिकता निर्धारण गरेर कार्यक्रमहरु ल्याइने छ ।
शिक्षा तथा रोजगार
विद्यार्थीहरुलाई प्राविधिक शिक्षा पढ्नमा प्रोत्साहन गरेर आवश्यक ठाउमा रोजगारीका लागि बन्दोबस्त गरिनेछ ।
स्थानिय स्तरमै कृषि, पर्यटन लगायतका क्षेत्रमा रोजगारीको वातावरण सिर्जना गरी वैदेसिक रोजगारीमा जानु नपर्ने वातावरण बनाइनेछ ।
स्कुल तथा कलेजमा प्राविधिक शिक्षालाई जोड दिइनेछ ।
दुर्घटना न्युनिकरणका लागि ५ कक्षादेखि माथिका विद्यार्थीहरुलाई ट्राफिक नियम पालनाबारे सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
याे लक्ष्य हासिल गर्नका लागि सर्लाही क्षेत्र नम्बर ३ का सम्पूर्ण मतदाता तथा आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुलाई साथ सहयोगका लागि हार्दिक अनुरोध गर्दछु ।
यहाँहरूबाट थप सल्लाहसुझावको अपेक्षा राखेको छु ।